Balaram Timalsina
म त कवि हैन हजुर यो देशको गाइँने !
माथिकालाई रिस उठ्ने तलकालाई चाहिने !!
ढिलो गरी प्राप्त आफ्नै मृत्युको खबर ।
**""""
मैले मेरै आँखाले मात्र हेरिरहें सँधै मलाई
र आफूलाई महान सोचिरहें ।
तर कहिलै हेरिन आफूलाई
उमेरको उत्तरार्धमा रहेका बाउआमाको आँखाबाट
र कहिलै कर्तव्य च्युत सोचिंन मैले ।
मैले कहिलै हेरिंन आफूलाई
मेरी श्रीमतीका भिजेका जोर आँखाबाट
र कहिलै प्रेमविहीन पत्थर सोचिंन
सँधै सुकोमल सोचिरहें
सँधै असल प्रेमी मात्र सोचिरहें ।
मैले कहिलै हेरिंन आफूलाई
मेरा सन्तानका आशा भरिएका आँखाबाट
मैले कहिलै महसुस गरिंन वात्सल्य विहीन
र सँधै मायालु बाबु मात्र सोचिरहें आफूलाई ।
मैले कहिलै हेरिन आफूलाई
सहकर्मी/सहयात्री/सहयोध्दाहरूका आँखाबाट
पलायनको पल्लो छेउमा पुग्दा पनि
मैले पहलमान संझिरहें आफूलाई
र कहिलै माफी मागिन समाजसँग ।
मैले मलाई दुश्मनको आँखाबाट पनि हेर्नु पर्थ्यो
तर त्यस्तो कहिलै गरिएन
सँधै हेरियो आफ्नै आँखाबाट
दुश्मनको तालीमा भावविभोर भैयो
मित्रहरूको गालीमा मुर्मुरिने काम भयो
र यसरी गल्तिमाथि गल्ति गर्दै गइयो ।
मैले मलाई हेर्नु पर्ने थियो
नदी झरना र तालहरूको आँखाबाट पनि
हेर्नु पर्ने थियो
पुतली चरा र माछाहरूको आँखाबाट पनि
हेर्नु पर्ने थियो
कमिला माहुरी र कमलकोटीको आँखाबाट पनि
तर त्यतापट्टी कहिलै लागिएन
सँधै एकै खाले आँखाबाट हेरियो
र जिन्दगी आधा अधुरो बुझ्ने काम भयो ।
मैले मलाई बच्चाहरूका आँखाबाट
युवाहरूका आँखाबाट
वृध्द वृध्दाहरूका आँखाबाट
महिला तथा सीमान्तकृतहरूका आँखाबाट
अछूत तथा लोपोन्मुखहरूका आँखाबाट
सबै सबै आँखाबाट हेर्नु पर्थ्यो
तर सँधै आफ्नै आँखाले मात्र हेरियो
र अज्ञानतालाई ज्ञान सम्झने गल्ति गरिरहियो ।
गते मिति त याद छैन
तर म उहिलै कहिलै मरिसकेको थिएँ
सबै सबैका नजरबाट
जसले मबाट आशा गरेका थिए
जसले मबाट भरोसा गरेका थिए
ती सबै सबैका नजरमा म मरिसकेको थिएँ
आफैं मरेको कुरा पनि
म आफैंले थाहा पाइँन
र जीउदो भएको जिद्दी गरिरहें ।
आज धेरै पछि थाहा भयो
म त उहिलै मरिसकेको रहेछु
र म त मान्छेहरूका धमिला स्मृतिहरुमा
धमिलो चित्र बनेर पो बाँचिरहेछु
आफैं मरेको खबर यति ढिलो थाहा पाएपछि
म लाज,घिन र पश्चातापले जलेको छु ।
ढिलै भए पनि मलाई
मरेको हुँ भनेर बुझाइदिने
ती सबै सबै प्रियजनहरूप्रति
हृदयदेखि नै आभार छ ।
********
२०८२ भदौ १७ गते
सिनामंगल
म अझै जीवित छु
मभित्र मानवता मरिसकेको छैन
म साम्राज्यवादको दलाल बनेको छैन
भविष्यमा दलाल बन्ने सोचेको पनि छैन
त्यसैले म न्यायको पक्षमा बोल्छु
त्यसैले म सत्यको पक्षमा बोल्छु
त्यसैले म शोषित-उत्पीडितको पक्षमा बोल्छु
त्यसैले म प्यालेस्टाइनको पक्षमा बोल्छु
त्यसैले म अमेरिकी-इजरायली साम्राज्यवादको बिरुध्द बोल्छु ।
यत्ति बोल्न कोही मार्क्सवादी भैरहनु पर्दैन
यत्ति बोल्न कोही कम्युनिष्ट भैरहनु पर्दैन
यत्ति बोल्न कोही वामपन्थी भैरहनु पर्दैन
( मार्क्सवादी बन्नु, कम्युनिष्ट बन्नु या वामपन्थी बन्नु धेरै राम्रो कुरा हो )
तर
कम्युनिष्ट बन्न
या मर्क्सवादी बन्न
या वामपन्थी बन्न
तपाईलाई डर लाग्छ भने पनि
इच्छा लाग्दैन भने पनि
तपाई मानवतावादी बन्न सक्नु हुन्छ
कम्युनिष्ट,वामपन्थी या मार्क्सवादी नभएरै पनि
तपाई प्यालेस्टाइनको पक्षमा उभिन सक्नु हुन्छ
यो बेला तपाई सत्यको पक्षमा उभिनु भएन भने
तपाई न्यायको पक्षमा उभिनु भएन भने
तपाई प्यालेस्टाइनको पक्षमा उभिनु भएन भने
तपाईलाई इतिहासले मृत घोषित गर्ने छ
तपाईका सन्तानहरूलाई
तपाईका सन्तान हौं भनेर भन्न लाज लाग्ने छ
मर्ने बेलामा तपाईलाई
यही कायरताले र मुर्दापनले घाँटी थिच्ने छ
र सजिलैसँग मर्न पनि दिने छैन
संसारभरिका असल मानिसहरूको दिलमा
तपाईको नाम " दलाल" भनेर लेखिने छ ।
त्यसैले आउनुस ....
न्याय,सत्य र स्वतन्त्रताको पक्षमा उभिन
र मान्छे बनेर बाँचिराख्न
प्यालेस्टाइनको पक्षमा सके जति बोलौं !!!!
फेसबुक म्यासेन्जरमा गडबढी मेरो मात्र हो कि तपाईहरूको पनि हो ?
ऊ अर्थात मिस्टर फलानो
**********
त्यसो त त्यस नाथेको टाउको दुई पैसे पनि होइन
त्यस टाउका भित्र
केवल ब्यापार छ
केवल पैसा छ
केवल हतियार छ
केवल युध्द छ
केवल रक्तपात छ
केवल नाफा घाटाको जोड घटाउ मात्र छ
नब्बे प्रतिशत यो धरतीका बासिन्दाको लागि
ऊ एउटा नरभक्षी बाघ मात्र हो
एउटा अतिक्रमणकारी डाका मात्र हो
मुस्किलले दश प्रतिशतका लागि मात्र
ऊ शायद नायक हो
त्यो पनि निर्विवाद होइन ।
एउटा सनकी
एउटा घामट घमण्डी
एउटा हदै अविश्वसनीय
र,एउटा असीम अत्याचारी
चार बीस पुग्नै लागेको
ब्यापारी ,विशुध्द ब्यापारी
कसरी विश्वकै धुरीमा पुग्यो ?
कसरी हाम्रा टाउकामा तुर्क्याउने भयो ?
हुनलाई ऊ एउटा देशको शासक हो
मात्र एउट देश
जस्तो अरु देशहरू छन
हो ठ्याक्कै मात्र एउटा देश
तर पनि उसलाई भ्रम छ
भ्रम पनि के भनौं र घमण्ड छ
फलानो देशको शासक हुनु
धरतीकै शासक हुनु हो
त्यसैले ऊ सबैलाई थर्काउँछ
यसो गर यसो नगर
फलानो सँग नकिन मसँग मात्र किन
होइन भने छेकबार लगाई दिन्छु
हैन भने ट्यारिफ थोपरी दिन्छु
होइन भने कू गराइदिन्छु
ऊ यसरी आदेश दिइरहन्छ
निमुखा निम्छराहरूको
ऊ यसरी सातो लिइरहन्छ ।
अरु आदेशहरू अपर्याप्त लागे भने
ऊ बेस्सरी रिसाउँछ
र टाउकाको मोल तोकिदिन्छ
फलानो देशको शासक
फलानालाई गिरफ्तार गरेर बुझाउनेलाई
यति करोड डलरको इनाम
ऊ यस्ता यस्ता घोषणा गरिरहन्छ ।
उसका यस खाले हर्क हेर्दा हेर्दा
मलाई पनि झोल चल्न थालेको छ
र उसको टाउकाको पनि मोल तोक्न मन लागेको छ
उसलाई समातेर बुझाउनेलाई
यति करोड डलरको घोषणा
यस्तो पम्पलेट छापेर
धरती भरि टाँस्न मन छ
र कसैले समातेर बुझाएछ भने
साँच्चै पुरस्कार दिन
एउटा कोष खडा गर्ने
र धरती भरिबाट रकम जम्मा गर्ने
यस्तो अभियान चलाउन मन लागेको छ ।
लौ त धरती भरिका साथीहरू हो
उसको गिरफ्तारीको लागि पहल गरौं
उसको पनि टाउकाको मोल तोकौं
र पुरस्कार राशीको लागि
रकम संकलन पनि सुरु गरौं ।
मान्छे त चिन्नु भएकै होला !
ऊ क्या ऊ
ऊ अर्थात:
मिस्टर फलानो !
*****
२०८२ श्रावण २५
Click here to claim your Sponsored Listing.