Hello Samaj
सत्य, तथ्य, निष्पक्ष समाचारको लागि हेल्लो समाज ।
06/06/2026
नेकपाका युवा नेता रञ्जित तामाङले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर आत्मसमीक्षा गर्दै नयाँ राजनीतिक एजेन्डा र विचारमा बहस गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता तामाङले विचार र सिद्धान्तविहीन राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने दाबी गरे।
तामाङका अनुसार जब समग्र राजनीतिको मूल विचार नै फेल हुन्छ, तब जतिसुकै बलियो संगठन, राम्रो व्यवस्थापन र लोकप्रिय छवि भए पनि त्यसले मात्रै व्यवस्था वा दललाई धान्न सक्दैन। समाज र राजनीतिको अन्तरसम्बन्धलाई चिकित्सा विज्ञानसँग तुलना गर्दै तामाङले भनेका छन्, "समाजका लागि राजनीति फेल हुनु र मानिसका लागि ब्रेन हेमरेज हुनु उस्तै हो।"
नेपाली राजनीतिमा अहिले ठ्याक्कै यही परिस्थिति निर्माण भएको उल्लेख गर्दै तामाङले परम्परागत ढर्राको उपचार खोज्नुभन्दा पनि अब नयाँ राजनीतिको जग बसाल्नका लागि बृहत् बहस र छलफल सुरु गर्नुपर्नेमा जोड दिएका छन्।
06/06/2026
नेकपाका सहसंयोजक माधव नेपालले देशभित्रै पर्याप्त रोजगारीका अवसरहरू सिर्जना हुन नसक्दा नेपाली नागरिकहरू कामको खोजीमा विदेशतिर चहार्नुपर्ने बाध्यता उत्पन्न भइरहेको बताएका छन्। नेपालले राज्यले निजी क्षेत्र र उद्यमशीलतालाई प्रोत्साहन गर्ने खालका लचिलो नीतिहरू अवलम्बन गर्नुपर्नेमा जोड दिए।
सुनचाँदी कला व्यवसायले थुप्रै व्यक्तिहरूलाई उद्यमशील बन्न उत्प्रेरित गर्नुका साथै मुलुकभित्र रोजगारी र जीवनयापनको बलियो आधार खडा गरेको सहसंयोजक नेपालले उल्लेख गरे। "यो संस्थाले थुप्रै व्यक्तिहरूलाई व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गरेको छ, जीवनयापनमा यसले मद्दत पुर्याएको छ, रोजगारी प्रदान गरेको छ, र अझै पनि यसका सम्भावनाहरू राम्रा छन्," नेपालले भने, "राज्यले रोजगारी सृष्टि गर्ने हो र रोजगारीका जुन–जुन सम्भावनाहरू छन् त्यसलाई प्रोत्साहित गर्ने हो।"
राज्यका विभिन्न नीतिगत झन्झटका कारण व्यापार व्यवसाय प्रभावित हुने गरेको संकेत गर्दै सहसंयोजक नेपालले कुनै पनि देशभित्र चल्ने व्यवसायमा प्रतिकूल असर नपर्ने र त्यसको विकासमा बाधा उत्पन्न नहुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए। नागरिकहरू देशभित्रै रोजगारी नपाएर संसारभर भौँतारिने स्थिति अन्त्य गर्नका लागि पनि परम्परागत तथा रैथाने सीपमा आधारित व्यवसायहरूको संवर्द्धन आवश्यक रहेको नेपालको भनाइ थियो।
06/06/2026
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भइरहेको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव अन्त्य हुँदै गएको दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकार दृढताका साथ लागिरहेको बताए।
"सरकार र मन्त्रीलाई प्रलोभनमा पारेर निर्णय प्रभावित गर्ने बिचौलियातन्त्रका नाइकेहरूको भूमिका समाप्त हुँदै गएको छ," सञ्चारमन्त्री तिमिल्सिनाले भने, "वडातहदेखि नै राजनीतिक संस्कार परिवर्तन गर्न आवश्यक छ र राजनीति कस्तो हुनुपर्छ भन्ने उदाहरण हामीले प्रस्तुत गर्नुपर्छ।" शक्ति, पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँट गर्ने विगतको गलत अभ्यास अन्त्य भएको जिकिर सञ्चारमन्त्री तिमिल्सिनाको थियो। दुई–तीन महिनामै सबै अपेक्षा पूरा हुन नसक्ने उल्लेख गर्दै सरकारले लिएको दिशा, गरिएका निर्णय र कार्यविधिको आधारमा मूल्याङ्कन हुनुपर्नेमा सञ्चारमन्त्री तिमिल्सिनाले जोड दिए। दलभित्र प्यानल वा गुटगत राजनीतिले छविलाई धुमिल बनाउने भन्दै आग्रह–पूर्वाग्रह त्यागेर सहकार्यको वातावरण बनाउन सञ्चारमन्त्री तिमिल्सिनाले आह्वान गरे।
कार्यक्रममा बोल्दै रास्वपाका सांसद बोधनारायण श्रेष्ठले नुवाकोट र धादिङ जिल्लाका साझा समस्या तथा विकासका मुद्दाहरूलाई संयुक्त रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए। नेतृत्व समस्या नभई समाधानको माध्यम हुनुपर्ने धारणा राख्दै सांसद श्रेष्ठले जिल्ला अधिवेशनबाट समस्याको समाधान गर्न सक्ने सक्षम नेतृत्वकर्ता छानिएर आउने विश्वास व्यक्त गरे।
06/06/2026
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफ्नो आगामी जीवन पूर्ण रूपमा साहित्य क्षेत्रमै व्यतित गर्ने घोषणा गरेकी छन्। ललितपुरमा आयोजित ‘काठमाडौं कलिङ्ग साहित्य महोत्सव’लाई सम्बोधन गर्दै कार्कीले समाजले आफूलाई केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभई एक सच्चा साहित्य अनुरागीका रूपमा बुझिदिन आग्रह गरिन्।
न्यायपालिका र कार्यपालिकामा आफूले निर्वाह गरेको भूमिका बाध्यता र कर्तव्यको उपज मात्र भएको प्रष्ट पार्दै कार्कीले साहित्य भने आफ्नो अन्तर्मनको वास्तविक रुचि भएको बताइन्। "मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ," कार्कीले भनिन्। सम्बोधनका क्रममा कार्कीले आफ्नो विगतको साहित्यिक यात्राको स्मरण गर्दै सन् १९९० को जनआन्दोलनका क्रममा जेल पर्दाको अनुभव समेत सुनाइन्।
दुई महिनाको जेल जीवनमा त्यहाँका महिला बन्दीहरूको पीडा र भोगाइलाई नजिकबाट नियालेपछि आफूले ‘कारा’ नामक उपन्यास लेखेको कार्कीको भनाइ थियो। सेवा निवृत्त भएपछि मात्र प्रकाशनमा ल्याइएको सो उपन्यासबाहेक आफूसँग अझै धेरै कथा र उपन्यासका अवधारणाहरू र आधा लेखिएका पाण्डुलिपिहरू सुरक्षित रहेको जानकारी दिँदै कार्कीले ती कृतिहरूलाई चाँडै पाठकमाझ ल्याउने आफ्नो योजना रहेको खुलासा गरिन्। नेपाल र भारतका ख्यातिप्राप्त कवि तथा लेखकहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा कार्कीको प्राज्ञिक रूपको विशेष चर्चा भएको थियो।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
44600