Panta Literary Blog

Panta Literary Blog

Share

The basic purpose of this page is to share the personal literary and creative works to the people. Former Campus Chief, Principal, M.Phil. in English (P.U.)

20/12/2025

समय सान्दर्भिक महात्म्य

१. विद्यार्थी बिहानभरि सुत्छ :
परिवार भन्छ: सुतोस्, उठाइदिनु हुँदैन, उसको भावनामा चोट पुग्छ ।
२. उसले होमवर्क गरेन :
अभिभावक भन्छ : सर ! आज यसले होमवर्क गरेको/ गरेकी छैन, दवाव नदिनुहोला, उसको भावनामा चोट पुग्छ ।
३. विद्यार्थी झम्लङ्ग कपाल पालेर, ट्याटु खोपेर, बहुरूपी भएर स्कूल पुग्छ :
अभिभावक भन्छ: यसलाई केही नभन्नुहोला, उसको भावनामा चोट पुग्छ।
४. विद्यार्थीले चुरोट तान्न सिकेको छ, गाँजा खान सिकेको छ, जाँडरक्सी खाएर सडकमा लम्पसार भेटिन्छ, हुक्का र गाँजा बोकेर स्कूल जान्छ । ऊ यो सबै सिकाउने 'गुरु' को 'आज्ञाकारी विद्यार्थी ' बनिसकेको हुन्छ । शिक्षक अभिभावकको साथ खोज्छ :
अभिभावक भन्छ : उसले होइन भनेको छ , उसलाई केही भन्नुहोला, उसको भावनामा चोट पुग्छ ।
५. विद्यार्थी चार, पाँच कक्षादेखि लभको चक्करमा हुन्छ । कक्षाकोठा, सार्वजनिक यातायात, शौचालय, भर्याङ सबैतिर ऊ अश्लिल हर्कत गरिरहेको हुन्छ । क्रस, ब्रेकअप, प्याचअप, डेटिङ... अनेक जानेको छ उसले ।
अभिभावक भन्छ : ऊ त्यस्तो छैन, यो उमेरमा अलिअलि त भैहाल्छ, उसलाई केही नभन्नुहोला, उसको भावनामा चोट पुग्छ ।
६. विद्यार्थीसँग आइफोन छ, ल्यापटप छ, ट्याब छ । ऊ रातभरि अनलाइन हुन्छ, फ्रिफायर, पब्जी खेल्छ, को कोहोसँग अनलाइन च्याट गरेर वा के केको हो भिडियो हेरेर रात बिताउँछ, दिउँसो स्कूल आएपछि टाउको दुख्यो भनेर टेबलमा निदाउँछ । आँखा सधैँ राता, मान्छे सधैँ झुम्म, शिक्षक सुधारको प्रयास गर्छ :
अभिभावक भन्छ : यसलाई केही नभन्नुहोला, उसको भावनामा चोट पुग्छ ।
७. विद्यार्थीको पाखुराभरि ब्लेडले चिरेको डाम छ, ऊ कक्षामा टोलाएर एउटैलाई हेरिरहन्छ, अरू सप्पै उसलाई र उसले हेरेकोलाई हेरिरहन्छन् । शिक्षकले सप्पै बुझेको छ । अभिभावकसँग सहयोग माग्छ :
अभिभावक भन्छ : उसलाई केही नभन्नुहोला, उसको भावनामा चोट पुग्छ ।
८. कहिलेकाहीँ होमवर्क बुझाइहाल्यो भने अलि जान्ने साथीले गरेको होमवर्क सारेर बुझाउँछ, शिक्षकले आफैँ गर भनेर दवाव दिन्छ :
अभिभावक भन्छ : उसलाई केही नभन्नुहोला, उसको भावनामा चोट पुग्छ ।
९. विद्यार्थी कापीकलम लिएर जाँदैन । शिक्षक 'कापी कलम खोइ ?' भन्छ ।
अभिभावक भन्छ : नमाग्नोस्, उसको भावनामा चोट पुग्छ।
समाज भन्छ : टर्चर दिन पाइँदैन, उसको भावनामा चोट पुग्छ।
प्रेस भन्छ : मानव अधिकारको गम्भीर उलंघन भयो ।
युट्युबर भन्छ : यो ज्यादती कहिले सम्म ? उसको भावनामा चोट पुग्यो ।
१०. स्कूल अभिभावक बोलाउँछ । विद्यार्थी 'आउने हैन नि' भनेर आँखा तर्दिन्छ ।
अभिभावक भन्छ: जान्न, उसको भावनामा चोट पुग्छ।
११. स्कूलले परीक्षा लिन्छ ।
अभिभावक भन्छ : चार जिपिएभन्दा कम नदिनोस्, उसको भावनामा चोट पुग्छ।
१२. बोर्डले परीक्षा लिन्छ । ऊ उत्तीर्ण हुँदैन।
कथित बुद्धिजीवी भन्छ : परीक्षा खारेज हुनुपर्छ, नत्र उसको भावनामा चोट पुग्छ।
अभिभावक भन्छ : ऊ अनुत्तीर्ण हुनै मिल्दैनथ्यो, उसको भावनामा चोट पुग्यो।
समाज भन्छ : अनुत्तीर्ण भन्न मिल्दैन, उसको भावनामा चोट पुग्छ।
अनि माथिका सप्पैले एकैचोटि भन्छन् : यी शिक्षकले पढाएनन् । सबैलाई पास गराएनन्। यिनलाई कारबाही हुनुपर्छ ।
************************
अँ साँच्ची, शिक्षकको चाहिँ भावना हुँदैन है !
*************************
कुनै व्यक्ति विशेषमा लक्षित छैन । शिक्षकहरूको औषत भोगाइ र अनुभूति मात्र हो । कसैको ब्यक्तिगत जीवनसँग मिलेमा संयोग मात्र हुनेछ ।

Want your public figure to be the top-listed Public Figure in Katmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Katmandu